काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्टले ६ सय ८९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।
उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत पाइन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । अन्य वडाको नतिजा आउन बाँकि छ ।
उता, मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । ३ सय २० मत ल्याएका उनले २७९ मत ल्याएका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् ।
प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । वडाअध्यक्षमा वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भए । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर विजयी भए । वडा नम्बर ५ मा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०÷३० भोट ल्याएका छन् ।