काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गर्दै कीर्तिमान रचेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले दोस्रो स्थानको मार्सेलाई ३–० ले पराजित गर्दा मेसीले सो कीर्तिमान बनाएका हुन् । पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।
एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान बराबरी गरे । यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ । मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् ।
उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए । ३५ वर्षीय मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन् । सोमबार हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।