मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्।

उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार उक्त गठबन्धनले आफ्नो नेता समेत चयन गर्न सक्ने समाचारहरूमा जनाइएको थियो। तर त्यसबारेमा ११ सदस्यीय एउटा समन्वय समितिले पछि टुङ्गो लगाउने कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताए। चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो। उनीहरूले सीट बाँडफाँट लगायतका विषयमा छलफल गरिरहेका छन्।

दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा भइरहेको दुई दिने बैठकमा कुन दलले कति सीटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल हुँदैछ। तर भारतीय जनता पार्टीसँग जुझ्न एकताबद्ध विपक्षीका लागि समेत ठूलो चुनौती छ। सन् २०१९ मा भाजपाले ५४३ सदस्यीय तल्लो सदन लोकसभामा ३०० भन्दा धेरै सिट जितेको थियो।

भारतका झन्डै १५ राज्यमा स्वयं वा गठबन्धनको हिस्साका रूपमा भाजपाको सरकार छ (त्यहाँ २८ राज्य र आठ सङ्घ प्रशासित क्षेत्र छन्)। यो घोषित आम्दानीका हिसाबमा भारतको सबैभन्दा धनी दल हो जसको सन् २०२१–२२ को आम्दानी १९.१७ अर्ब भारतीय रूपैयाँ छ। राष्ट्रिय निर्वाचनमा उक्त दलको सबैभन्दा ठूलो शक्ति भनेको नरेन्द्र मोदीको लोकप्रियता हो। राज्य तहका निर्वाचनमा भिन्न दल रोज्नेहरूको मत तान्न समेत उनी सफल देखिन्छन्।


कङ्ग्रेस आईका नेता राहुल गान्धी गत मार्च महिनामा सांसद पदका लागि अयोग्य ठहरिएका थिए। सन् २०१९ को एउटा चुनावी र्‍यालीमा नरेन्द्र मोदीको थरलाई लिएर व्यक्त अभिव्यक्तिका कारण उनी एक मानहानिको मुद्दामा दोषी ठहर भएका थिए। उनलाई जेल सजाय समेत सुनाइएको थियो। उनको पुनरावेदन सफल नभएसम्म आगामी चुनावमा उनले प्रतिस्पर्धा गर्न पाउने छैनन्।

@JDUONLIN\BBC

भिन्न राजनीतिक दर्शनका आधारमा पश्चिम बङ्गालजस्ता राज्य र दिल्लीमा कैयौँ राजनीतिक दल आपसमा भिडिरहेका छन्। राष्ट्रवादी कङ्ग्रेस पार्टीजस्ता केही दलले आन्तरिक फुटसँग जुझिरहेका छन्। अन्य दलले वरिष्ठ नेताहरू बीचमा रहेको एकताको अभाव झेलिरहेका छन्।

यद्यपि आफ्ना मतभेदलाई छाडेर विपक्षीहरूमाझ बलियो भाजपाविरोधी धारणा विकसित भइरहेको जानकारहरू बताउँछन्। मङ्गलवार कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले एउटा ट्वीटमार्फत् बैठकको उद्देश्य आफूहरूका लागि शक्ति संचय गर्नु नभई प्रजातन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्यायको संरक्षण गर्नु रहेको बताएका छन्।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले उक्त बैठकलाई एउटा ूफलदायीू अभ्यास बताइन् र त्यसमा ूरचनात्मक निर्णयहरूू लिइने र त्यसको नतिजा ूदेशका जनताका लागि राम्रो हुनसक्नेू बताइन्। समाचारहरूका अनुसार सोनिया गान्धी उक्त गठबन्धनको अध्यक्ष चुनिन सक्छिन्।

तर त्यसको कुनै औपचारिक पुष्टि भएको छैन। त्यसैगरी भाजपा नेतृत्वको न्याश्नल डेमोक्र्याटिक अलाइन्सले समेत मङ्गलवार नै राजधानी दिल्लीमा गठबन्धनको बैठक गर्दै छ।


सोमवार भाजपा अध्यक्ष जेपी नड्डाले विपक्षीहरूको बैठकको आलोचना गर्दै त्यसको जग स्वार्थहरूको राजनीतिमा निर्भर रहेको बताएका थिए।
बीबीसीको सहयोगमा