मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मोरङको बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा। तस्बिर : विवेक मिश्र/रासस

बेलबारी (मोरङ), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

मोरङ क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । उर्लाबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराए । नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गरे । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए ।


त्यसैगरी मोरङ क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन् । चार जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी बनेका थिए ।


मोरङ क्षेत्र नम्बर ३ मा आज भएको मनोनयन दर्ताका क्रममा २१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यसमा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट ईरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे, नेपाली कांग्रेसबाट सुनिलकुमार शर्मा, श्रम संस्कृति पार्टीबाट अमिर मगर, उज्यालो नेपाल पार्टीबाट मित्रसेन योञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी, नेकपा (माओबादी)बाट खडगबहादुर कार्कीलगायतले मनोनयन दर्ता गराएका छन् ।


त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदी, नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा (एमाले)का जिवन घिमिरेलगायत २१ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल, रास्वपाबाट आशा झालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी दर्ताभएको छ । कांग्रेसबाट डा शेखर कोइराला, एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत चुुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।