मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

मोरङ । स्थानीयको आक्रमणबाट एक जना महिला प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले मोरङको लेटाङमा लगाएको कर्फ्यू केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार लेटाङको चार किल्ला सिमानाभित्र भने अनिश्चितकालीन कर्फ्यू जारी रहने छ । मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

मोरङ प्रशासनका अनुसार बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो पारिएको छ । लेटाङमा एक शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीय र प्रहरीबीच झडपको स्थिति बनेको हो । झडपमा आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार भएपछि उनको निधन भएको हो । घटनामा एसपीसहित २८ प्रहरी घाइते भएका छन् ।