मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट  कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार  बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो ।  आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको  थियो ।

घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युकाे आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ ।