विराटनगर । स्थानीयको आक्रमणबाट महिला प्रहरीको निधन भएको स्थान मोरङको लेटाङमा आज बिहानैबाट स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी भएको बताएका छन् ।
दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गरेका हुन् । सो क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको छ ।