मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुई जनाले नै नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र पाएका छैनन् । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उनले बताए ।