मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित  उखुबारीमा खाल्डो खनेर दुई शव पुरिएको अवस्था भेटिएको छ । त्यसमध्ये एउटा शवको पहिचान समेत भएको छ ।

बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए । प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।
एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ ।
बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।