काठमाडौं । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्या भएको छ । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी किशोरीका बुबा छैनन् । दुई वर्षअघि मामाका छोरा दाजु विनोद राईको घरमा बसेर पढ्न पथरी आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले बाँकी समय दाजुको घरमै भएको पसलमा काम सघाउँदै आएकी थिइन् ।
प्रहरीका अनुसार घर पछाडिको आँगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या अभियोगमा पक्राउ परेका धीरेन सिमराका हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए भने उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् । पछिल्लो समय श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरेका थिए ।
विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो । प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिएका थिए ।
सोमबार बाराको जितपुर सिमराबाट पथरी आइपुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको सूचनापछि राति ११ बजे प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थल पुगेको थियो । परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा असारमा धीरेनले लिएर गएको बताए । लगतै प्रहरीले सम्भावित नाकामा कडाइ गर्यो, घरमा टोली पठायो । तर धीरेन तीन महिनादेखि गएका थिएनन् ।
प्रहरी गस्तीमै थियो, राति साढे २ बजेतिर पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारमा एक व्यक्ति हिँडिरहेका देखिए । प्रहरी देखेपछि उनी जंगलतर्फ भागे । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोडबाट फर्किएको बताए । प्रहरीले उनी नै घटनामा संलग्न अभियुक्त हुनसक्छ भनेर शंका गरेको थिएन, तर स्पष्ट जवाफ नदिएका कारण नियन्त्रणमा लियो ।
सम्झनाको हत्याको अनुसन्धान गरिरहेको टोलीले भने घटनास्थल क्षेत्रमा तरकारी रोप्न तयार गरिएको बारीमा जुत्ताको डाम देख्यो । चौधरीले लगाएको जुत्ता र घटनास्थलमा डाम देखिएको जुत्ता ठ्याक्कै मिल्यो । त्यसपछि धीरेनले मृतक आफ्नो पे्रमिका भएको स्वीकार गरे । केरकार गर्दा हत्या आफैंले गरेको बयान दिए ।