मोरङ र बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु

विराटनगर । मोरङ र रुपन्देही जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको निधन भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको अस्पतालले जनाएको छ । उता, मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जनाको ज्यान गएको हो ।

सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको ज्यान गएको छ । यता, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो । मृतकहरुमा दीर्घरोगको समस्या रहेको बताइएको छ ।