काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजाको उपचारका क्रममा मृत्यु भएको छ । छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते छिन् र उनको पोखरामा उपचार भइरहेको छ । मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।
घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी कुँवरले जानकारी दिए । उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको थियो । गम्भीर घाइते अवस्थामा रहेकी प्रियंकालाई पोखरामा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अमृताको मणिपालमै उपचार भइरहेको छ ।
प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । रासस