काठमाडौं । म्यानचेस्टर युनाइटेडको पोष्टमा लिभरपुलले ७ गोल हानेको छ । घरेलु मैदानमा म्यान यू ७–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा १–० को मात्र अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गर्न सफल भयो ।
लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे। पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएको तीन मिनेटपछि गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० मा पुर्याए।
६६ औं मिनेटमा सलाहले गोल गर्दै एकतर्फी अग्रतालाई ४–० मा पुर्याए। ७५ औं मिनेटमा नुनेजले अर्को गोल थप्दा त्यसको ८ मिनेटपछि सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ६–० मा पुर्याए। खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गर्दै लिभरपुलाई सानदार जित दिलाए। खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरे ।
यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यो लज्जास्पद हारले युनाइटेडलाई दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमेको छ।