म्यानमारमा नेपालीलाई बन्धक बनाएर काममा लगाएको भेटियो, सरकारले गरायो सचेत

file Photo: AFP

काठमाडौं । म्यानमारमा गैरकानुनी रूपमा नेपालीलाई बन्धक बनाएर काममा लगाइएको पाइएको छ । उनीहरूलाई राम्रो पैसाको प्रलोभन दिएर त्यहाँ जबरजस्ती काम गराइएको परराष्ट्र मन्त्रालयको भनाई छ । अझै धेरै नेपाली त्यहाँ बन्धकका रूपमा काम गरिरहेको र उद्धारमा पहल भइरहेको समेत मन्त्रालयको भनाई छ । त्यहाँबाट पाँच जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । म्यानमारको द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका पाँच नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार नेपाली पुरुष व्यक्तिलाई थाई सरकारी निकाय, थाइल्यान्ड आप्रवासी सङ्घ तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा एक साताअघि नेपाल फर्काइएको दूतावासले जानकारी दिएको छ । त्यस्तै दूतावासका अनुसार मङ्गलबार उद्धार गरिएकी एक नेपाली महिलालाई नेपाल फिर्ता पठाइएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गर्दै युद्धग्रस्त क्षेत्रमा नजान अपिल गरेको छ । कसैको प्रलोभनमा परेर धेरै पैसा कमाउने उद्देश्यसहित कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नजान परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । साथै आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यस्ता गतिविधिका बारेमा आमनागरिकमाझ सचेतना दिन अनुरोध गरिएको छ ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई म्यानमार पु¥याउने गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । थाइल्यान्डको बैङ्कक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाएको पाइएकाले त्यस्ता यात्रामा सहभागी नहुन यसअघि नै अपिल गरिएकाले सजग रहन भनिएको छ ।

मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखा परेको मन्त्रालयले वक्तव्यमार्फत जनाएको छ ।

अप्ठ्यारोमा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैङ्ककमा आवेदन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

यस्तै अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शङ्कास्पद आइटी फर्महरूले बैङ्ककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैङ्कक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापन सामाजिक सञ्जालमार्फत विभिन्न स्थानका एजेन्टबाट प्रवाह हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल वा अन्य स्रोतमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न भनिएको छ ।

वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी तथा रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा त्यस्ता निकायको आधिकारिक वेबसाइट जाँच गर्न भनिएको छ । ती विषयमा जानकारी लिनुपरेमा तोकिएका सहजकर्ता वा नेपाली राजदूतावास, याङ्गुनका तोकिएका अधिकारीलाई सम्पर्क गर्न भनिएको छ ।