म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

Photo : Sky News

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याएपछि अहिले आन्दोलन शुरु भएको छ । प्रजातन्त्रका पक्षमा हरेक दिनजसो विशाल र्यालीहरु निस्कन थालेका छन् । यसको अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि त्यहाँको सेनाले संयमता अपनाउन आह्वान गरेको छ ।

देशको स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले बल प्रयोगको संकेत समेत गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै सेनाले प्रदर्शन र विरोधका कार्यक्रमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न आग्रह गरेको छ । प्रदर्शनकारीले भने स्टेट काउन्सीलर आङ साङ सुकीसहितका प्रजातन्त्र समर्थक नेताहरुलाई रिहाईको माग गरेका छन् । सेनाले देशमा संकटकाल समेत घोषणा गरी सत्ता आफ्नो कब्जामा लिएको हो ।