काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जारी आन्दोलनका दौरान सैन्य शासकको हर्कतको कडा निन्दा गरेको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले सेनाले गरेको नरसंहारको भने निन्दा गरेको हो ।
म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति निकाल्दै यस्तो उल्लेख गरेका हुन् । जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न समेत कांग्रेसले
आह्वान गरेको छ ।
कांग्रेसले लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको समेत बताएको छ । सबै मुलुकमा हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको पनि शर्माको भनाई छ ।
म्यानमारको पछिल्लो कूलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटना क्रमलाई निरन्तर नियालिरहेको उनले बताएका छन् । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको समेत कांग्रेसको भनाई छ ।
‘दमनका विरूद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपिल गर्दछ,’ विज्ञप्तिमा शर्माले भनेका छन् ।
म्यानमारमा सैनिक कूविरुद्ध भएका प्रदर्शनमा अहिलेसम्म ४ सयभन्दा बढीको ज्यान गएको छ। शनिबारमात्रै सेनाले ११४ नागरिकलाई गोली हानेर मारेको छ ।