काठमाडौं । म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बताएका छन्। सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा १७ जना नेपालीभाषी पनि रहेको त्यहाँस्थित एकजना नेपालीभाषी साहित्यकारले बीबीसीलाई बताएका छन् । ‘म्यान्डलेमा एक दाहाल परिवारका सातजनाको दुःखद मृत्यु भएको हामीले खबर पाएका छौँ, बीबीसी न्यूज नेपालीसँग याङ्गुनबाट लक्ष्मण न्यौपानेले भनेका छन् । त्यसबाहेक अरू १० जनाको भूकम्पमा परी ज्यान गएको उनले बताए।
भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंसको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन्। त्यस क्षेत्रमा मात्रै सात सय जनाको हाराहारीमा मृत्यु भएको बताइएको छ। हताहत हुनेहरूले अस्पतालहरू खचाखच भरिएका छन्। सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन्। तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ।