म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जित्ने पहिलो इंग्लिस टिम सिटीकै छिमेकी म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९९ मा यो सफलता पाएको थियो । जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि यो सफलता पाएका छन् । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो उपाधि विशेष छ । सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्‍यो ।

शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन् । सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।