म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड

राष्ट्रपति भवनमा अन्तिम दर्शनका लागि राखिएको म्याराडोनाको शव : Photo\BBC

काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ ।

सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण निधन भएको थियो । उनलाई श्रद्धाञ्जली दिने काम तीन दिनसम्म जारी रहनेछ । जहाँ पुगेर समर्थकले आफ्ना प्रिय खेलाडीको अन्तिम दर्शन गर्न सक्नेछन् ।

Photo : Daily express

अर्जेन्टिनामा म्याराडोनालाई भगवानसरह सम्मान दिइन्छ । खासगरी लामो युद्ध र गरिबीको चपेटामा परेको उक्त मुलुकका नागरिकलाई फुटबलका माध्यमबाट म्याराडोनाले खुसी मात्र दिएनन्, समृद्धिको यात्रा समेत तय गरिदिए । आम मानिसको मुहारमा मुस्कान ल्याइदिए । त्यसकारण पनि अर्जेन्टिनामा उनको विशेष सम्मान गरिन्छ । उनको निधनको खबरसँगै विभिन्न शहरमा समर्थक सडकमा निस्किएका थिए ।

भावुक समर्थकले उनीप्रति सम्मान व्यक्ति गरिरहेका छन् । संसारभरबाट म्याराडोनाको निधनमा श्रद्धाञ्जली आइरहेको छ । अर्जेन्टाइन फरवार्ड तथा वर्तमान फुटबल संसारका सर्वाधिक लोकप्रिय खेलाडी मेस्सी, पोर्चुगिष्ट फरवार्ड रोनाल्डोसम्मले उनको निधनमा दुखः व्यक्त गरेका छन् ।

Photo : The Indian Express

ब्राजिलका महान् खेलाडी पेलेले आफुले एक निकट साथि गुमाएको भन्दै आकासमा सँगै फुटबल खेल्ने आशा राखेका छन् । उनको निधनसँगै बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल रद्द गरिएको छ ।

यस रंगशालामा उनका प्रशंसकको भिड लागेको थियो । उता, म्याराडोनाको निधनमा इटाली पनि उत्तिकै भावुक बनेको छ । खासगरी इटलीको क्लव नेपोलीलाई आजको स्थानमा ल्याउन उनले ठूलो योगदान गरेका थिए ।

सान पाउलो स्टेडियममा समर्थक भेला भई उनीप्रति सम्मान व्यक्त गरेका छन् । नेपोलीमा त्यहाका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने घोषणा गरेका छन् । म्याराडोनाले १९८६ मा अर्जेन्टिनाका लागि विश्व कप उचालेका थिए ।