म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् ।

उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगगरी सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरेका छन् । उनले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको बताएका छन् ।

नेताहरु विदेशीको इशारामा चलेकोतर्फ समेत उनले सावधान गराएका छन् । उनले भनेका छन्, ‘राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको समेत उनको सन्देशमा राखिएको छ ।