काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ताको भागवण्डा मिलेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लागेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।
आज मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि १ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ । उपराष्ट्रपति माओवादीले पाएको छ । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।
अब सभामुख एमालेले पाउनेछ । सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा पनि टुंगो लगाएको छ । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३–३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।