काठमाडौं । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् ।
आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको बताए ।
किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ । यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको र आक्रमणबाट कम्तीमा दुई जना घाइते भएको बताए ।