काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए।
राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभइ वार्ताको टेबलमा नआउने बताएका थिए।
युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित होस् भन्ने चाहन्छ भने त्यसप्रति क्रेम्लिनको गहिरो विरोध रहँदै आएको छ। त्यसको साटो वार्ताका लागि किएभले आफ्नो देशको ‘नयाँ भौगोलिक वास्तविकता’लाई स्वीकार गर्नुपर्ने अडान मस्कोले राख्दै आएको छ।
पुटिनले शनिवार अबेर राति पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए। उनले क्रेम्लिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे र केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्याइरहेको बताए।
उक्त विस्तृत पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले सञ्चारकर्मीहरूलाई यसै महिनाको सुरुमा क्राइमियाको पुलमा विस्फोट भएपछि मस्कोले त्यस्ता गतिविधि रोक्न केही हमलाहरू गरेको दाबी गरे। दुईजनाको ज्यान जानेगरी भएको उक्त घटनापछि पुटिनले त्यसलाई युक्रेनको आतङ्कवादी कार्य भएको दाबी गर्दै त्यसको जवाफ दिने वाचा गरेका थिए। रुसले कब्जा गरेको प्रायद्वीपलाई उससँग जोड्ने उक्त पुलमा भएको त्यस घटनाको जिम्मेवारी आधिकारिक रूपमा किएभले लिएको थिएन।
सात अफ्रिकी देशका नेता र प्रतिनिधिहरूले गत महिना युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनलाई भेटेपछि रुस-अफ्रिका शिखर सम्मेलन भएको हो। यसैबीच आइतवार बिहान मस्कोमा ड्रोन आक्रमणमा दुईवटा कार्यालय भवनहरू क्षतिग्रस्त भएको रुसले बताएको छ। मस्कोका मेयर सेर्गेई सोब्यानिनले आक्रमणमा कोही पनि घाइते नभएको बताएका छन्। आक्रमणका लागि युक्रेन जिम्मेवार रहेको उनको आरोप छ।
उक्त घटनापछि मस्को माथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो तर केही विमानस्थलहरू पुनः सञ्चालनमा आइसकेका छन्। आफ्नो पहिलो नाम लीया बताएकी एक जना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई आफूले आगो र धुवाँ देखेको बताएकी छन्। उनले भनिन्, “हामीले एउटा विस्फोट सुन्यौ र त्यो छाल जस्तै थियो, अनि सबै जनाले हाम फाले।”
उनले थपिन्, “त्यसपछि त्यहाँ एकदमै धेरै धुवाँ थियो र तपाईँले केही पनि देख्नसक्ने अवस्था थिएन। माथिबाट आगो देख्न सकिन्थ्यो।” यसैगरी युक्रेनका विभिन्न सहरहरूमा पनि क्षेप्यास्त्रहरू प्रहार भएका खबरहरू आएका छन्। किएभले आफ्ना सेनाहरू रुसले कब्जा गरेका सहरहरूतर्फ अघि बढिरहेको जनाएको छ। युक्रेनले रुसी फौजमाथिको प्रत्याक्रमणलाई जारी राखेको छ।