धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे

काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार १५ जना नेपाली पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् । २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा छन् । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।

रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको थियो । पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले भनेको छ ।