युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

काठमाडौं । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरु भएको छ । साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका वरिष्ठ अधिकारीहरू सहभागी छन् । रुस वाहेकका मुलुकका प्रतिनिधिहरू सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्ने छन् । शनिबार सुरु भएको सम्मेलनमा रुस युक्रेन युद्धका कारण खाद्यान्न, इन्धन लगायतमा प्रभावित विकासोन्मुख देशका प्रतिनिधिहरू पनि सहभागी छन् ।

ुयो धेरै महत्त्वपूर्ण छ किनभने, खाद्य सुरक्षा जस्ता मुद्दाहरूमा अफ्रिका, एसिया र अन्य भागका लाखौं मानिसहरूको भाग्य विश्वले शान्ति कायम गर्न कत्तिको चाँडो अघि बढ्छ भन्ने कुराले प्रत्यक्ष निर्भर गरेको छ, युक्रेनका नेता जेलेन्स्कीले भने । जेलेन्स्कीले यो सम्मेलनले यसै वर्ष विश्वका नेताहरूको शान्ति शिखर सम्मेलन गर्ने सिद्धान्तलाई समर्थन गर्ने अपेक्षा गरेका छन् । जुन किभको १० बुँदे सूत्रमा आधारित हुनुपर्ने उनको धारणा छ । युक्रेनको उक्त सूत्रले क्षेत्रीय अखण्डताको सम्मान र रुसी सेनालाई फिर्ता गर्ने कुरा समेटेको बताइन्छ ।

तर युक्रेनको शान्ति सूत्रलाई इन्कार गर्दै आएको रुसलाई भने यस शिखर सम्मेलनमा बोलाइएको छैन । यस शिखर सम्मेलनको विषयमा रुसका उच्च अधिकारीहरूले यसै साताको सुरुमा त्यहाँ के छलफल हुन्छ र के लक्ष्य राखिन्छ भन्नेबारे बुझ्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

यसैबीच युक्रेन युद्धमा तटस्थ बसेका भारत र ब्राजिलसँग पनि संवादको पहुँच पुर्‍याउने अवसरको रुपमा यो सम्मेलन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताइन्छ । साथै रुसको सहयोगी रहेको चीनको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ । जहाँ चीनले पनि जेलेन्स्कीको शान्ति योजनालाई समर्थन गर्नसक्ने भन्दै युक्रेनले अपेक्षा गरेको बताइन्छ ।

युक्रेनका उच्च अधिकारीले आफूहरूबीच धेरै असमझदारी भए पनि आफ्ना समस्या व्यक्त गर्न पाइने भएकाले यो सम्मेलन आफ्ना लागि महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । चीन सरकारका प्रवक्ता वाङ वेनबिनले भने आफूहरू युक्रेनको संकटपूर्ण राजनीतिक समाधानमा रचनात्मक भूमिका खेल्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।