काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन प्यालेस्टाइन र इजरायलका तर्फबाट ५६ कैदी\बन्धक छुटेका छन् । हमासले १७ बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको हो । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इजराइल पुर्याइ अस्पताल लगेको छ।
युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।
युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्याइरहेका छन्। त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन्। इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इजराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।
हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ। अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरी इजराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन्।
हमासको आक्रमणमा इजराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इजराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको छ । इजराइलको आक्रमणबाट गजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ। ठूलो संख्यामा नागरिकहरूको मृत्यु भएपछि गजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समूदाय र संयुक्त राष्ट्रसंघले इजराइललाई दबाव दिँदै आइरहेको थियो।