काठमाडौं । अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको नेपालले सुपर सिक्समा भारत र बंगलादेशलाई प्रतिस्पर्धीका रुपमा पाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड समेत ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेर ऐतिहासिक सफलता पाएको छ ।