यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे ।

पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी दिए हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके ।

उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए । पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।