काठमाडौं । स्पानिस क्लव रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २–० ले हराउँदै यूईएफए सुपर कपको उपाधि हात पारेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गतरात सम्पन्न खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक–एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।
५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गरेका हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।
रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो । रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।
रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो । नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ । रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो ।