काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।
बराबरीपछि दुवै टोलीले १–१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २–१ ले तथा क्रोएसिया स्पेनसँग ३–० ले पराजित भएका थिए ।
खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।
७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए । यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २(१ को अग्रता लिएको थियो । तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए । अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।