काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे ।
टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको थियो । पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।