काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्ड हार टारेको छ । खेल १–१ को बराबरीमा सकिएको छ । जर्मनी समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी पर्याप्त भयो ।
डान एनडोएले २८औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्यो । सो टीम पनि अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो ।
यस्तै समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हराएर पहिलो जित निकाल्यो । यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे । जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । हंगेरीका लागि तेस्रो हुने मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ । त्यसका लागि समूह चरणका बाँकी खेलहरुको नतिजा कुर्नुपर्नेछ ।
स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।