काठमाडौं\एजेन्सी । यूरोपका विभिन्न ११ शहरमा यूरोकपका खेलहरु भइरहेका छन् । आफ्नो मुलुकलाई समर्थन गर्न हरेक चोक चोकमा मानिस भेला भई सेलिब्रेसन भइरहेका छन् । यस्तो लाग्छ, यहाँ अवस्था निकै सामान्य छ । यूरोपेली मुलुक र यहाँका जनताको लापरवाहीबाट विश्व स्वास्थ्य संगठन भने डराएको छ । संगठनले सावधानी नगर्ने र यही स्तरको लापरवाही रहने हो भने यूरोप पुनः एक पटक कोरोनाको चपेटामा आउने चेतावनी दिएको छ ।
संगठनका अनुसार लगातार दस दिनसम्म कोरोना संक्रमण कम भएको आंकडाका बीच यो आकंडामा परिवर्तन आउन थालेको छ । अब यूरोपमा संक्रमणको दर वृद्धि भएको छ । यूरोपमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । यो अन्य भेरियन्टको तुलनामा बढी संक्रामक समेत मानिएको छ ।
संगठनका यूरोप क्षेत्रिय प्रमुख ह्यान्स क्लूगले यूरोपमा खतराको घंटी बजेको चेतावनी दिएका छन् । यूरोकपमा कतिपय मुलुकले रंगशालामा पूर्ण क्षमतामा दर्शकलाई अनुमति दिएका छन् । दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनन् । यसकारण कोरोनाको तिब्र फैलावटमा सहयोग पुग्ने चेतावनी संगठनको छ ।