यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो। उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिवेदनलाई सकारे र यसले परमाणु ऊर्जा केन्द्रको वरपर रुसी सेनाको उपस्थिति, त्यहाँ युक्रेनी कर्मचारीहरूमाथि दबाव, र रुसी सैन्य कब्जाको स्पष्ट सन्दर्भहरूबारे उल्लेख गरिएको जनाए। उनले ूपरमाणु ऊर्जा केन्द्रको क्षेत्रूलाई निःशस्त्रीकरण गर्ने उद्देश्य हो भने सुरक्षित क्षेत्रलाई समर्थन गर्ने बताएका छन्। यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ। जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन्।

मङ्गलवार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको छ।

गत साता आइएइएका विज्ञहरूले त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कनका निम्ति निगरानी गर्दै गर्दा र निकायका प्रमुख रफायल ग्रोसीले पारमाणविक प्रकोपको वास्तविक जोखिमबारे चेतावनी दिँदै गर्दा पनि गोलाबारी जारी रह्यो। समूहका निगरानीकर्ताहरूले दुई दिनपछि केन्द्र छोडेको भए पनि यसका दुई जना अधिकारीहरू स्थायी रूपमा त्यहाँ रहने बताइएको छ।


मङ्गलवार सार्वजनिक भएको प्रतिवेदनमा निकायले रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका ९०७ जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थितिहरूमाथि प्रकाश पारेको छ। त्यस्तै ती थकित कर्मचारीहरूलाई पारिवारिक सहायता र काम गर्ने उपयुक्त वातावरणको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिइएको छ। आइएइएले केन्द्रमा भएको क्षतिको विस्तृत विवरण दिँदै निरन्तर भएको गोलाबारीका कारण हालसम्म पारमाणविक आपत्काल ननिम्तिए पनि यसको सुरक्षाबारे खतराको सङ्केत दिएको बताएको छ। सुरक्षामा गम्भीर असर पर्ने गरी रेडियोधर्मी परिणामहरू निम्त्याउन सक्ने उसले उल्लेख गरेको छ।

रुसी सेना, सैन्य सवारीसाधन र उपकरणहरू केन्द्रको वरिपरि देखिएका थिए र धेरै सैन्य ट्रकहरू केन्द्रका ६ वटा मध्ये दुईवटा टर्बाइन हलभित्र रहेको निकायले जनाएको छ। उसले त्यस क्षेत्रमा सैन्य उपकरणहरू र त्यस महत्त्वपूर्ण क्षेत्र नजिक हुने झडपहरूले केन्द्रको सुरक्षा प्रणालीलाई कमजोर बनाएको चेतावनी दिएको छ। र, सुरक्षा प्रणालीहरूमा हस्तक्षेप गर्न सक्ने सवारीसाधनहरू हटाउन आह्वान गरेको छ।

नियामक संस्थाका अनुसार कर्मचारीहरूले केन्द्रको चिस्यान पोखरीहरू भ्रमण गर्न रुसी सेनाबाट अनुमति लिनुपर्‍यो। उसले रुसको पारमाणविक निकाय रोसाटोमका अधिकारीहरूको उपस्थितिको आलोचना समेत गरेको छ। उक्त उपस्थितिले प्रमुख निर्णयहरू लिनुपरेको अवस्थामा द्वन्द्व निम्त्याउन सक्ने बताइएको छ। संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले आइएइएले कब्जा गरिएको परमाणु केन्द्रमा गोलाबारी गरेकोमा युक्रेनलाई दोष दिनुपर्ने बताए।

तपाईँको प्रतिवेदनमा गोलाबारीको स्रोतको प्रत्यक्ष नाम नहुनुप्रति हामी खेद प्रकट गर्दछौँ, भसिली नेबेन्ज्याले सुरक्षा परिषद्को बैठकमा भर्चुअल उपस्थितिमार्फत् भने। जापोरीजा केन्द्रमा ६ वटा रियाक्टर भएपनि युद्ध सुरु भए यता दुई वटा मात्र सञ्चालित थिए। र हाल तीमध्ये पनि एउटाले मात्रै काम गरिरहेको छ।