यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

Photo source : Reuters

पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्।

क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ। मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन्।

चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिअन्टका कारण निम्तिएको ठानिन्छ। अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन्। सोमवार फ्रान्सका स्वास्थ्यमन्त्रीले ज्यानुअरीको सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए।


फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन्। इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो। त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलवार १७ हजार १ सय ७२ पुगेको छ ।

ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् । साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो ।