काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको छ ।
विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो म्यानपावरबाट पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको थियो । वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेपछि उजुरी परेको थियो । पीडितहरुलाई ५० प्रतिशत रकम हर्जना तिर्नुपर्ने निर्णय गर्दै विभागले उक्त म्यानपावर खारेज समेत गरिदिएको छ ।