यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । यो दुबै टिमका लागि निर्णायक छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले हारिसकेको छ ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले हारेको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू १९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।