योगी पाइलट बाबाको निधन, को हुन् उनी ?

काठमाडौं । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्लेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो ।

८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने भएको छ । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।
पाइलट बाबा भारतको विहार राज्‍यको सासाराम भन्‍ने स्थानमा सन् १९३८मा जन्मिएका थिए पाइलट बाबा । पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ समा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए । उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए । उनले भारत सरकारबट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमा राखेका थिए ।

उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

पाइलट बाबाले आफ्नो विभिन्न अन्तर्वार्तामा भन्‍ने गर्थे, ‘की जब कुनै अप्रिय घटना हुन लागेको हुन्थ्यो तब एक वृद्ध र पातलो बाबा आएर उक्त घटनाको बारेमा बताइदिनुहुन्थ्यो। उक्त घटनाबाट बच्ने उपाय पनि भनिदिनुहुन्थ्यो। सन् १९६२मा युद्धको समयमा एक अद्‌भूत घटना घट्यो जसले मेरो जीवनमा पूरै परिवर्तन ल्याइदियो। युद्धको समयमा मैले नभनेको सैनिकलाई युद्धमा पठाउँदा भारतले क्षति बेहोर्नु परेको थियो । एक समय युद्धको बेला सैनिक विमान उडाइरहेका बेला मेरो मूल टावरसँग सम्पर्क टुट्यो। मेरो हातमा विमान कन्ट्रोल थिएन। त्यही समय फेरि उही बाबा आएर मलाई विमानबाट सुरक्षित अवरतण गराउनुभयो। यो कसरी सम्भव भयो म आफै अचम्मित भएँ र त्यसपछि लाग्यो विज्ञानभन्दा माथि पनि अरू कसैले सत्ता चलाइरहेको छ। त्यपछि मैले सैनिक सेवाबाट अवकाश लिएर हिमालयको यात्रा तय गरेँ। यात्रामा अनेकन दुस्ख कष्ट भोगेँ र मेरो सपनामा आउने बाबासँग भेट भयो जसको नाम थियो हरी बाबा। मैले उहाँलाई नै आफ्नो गुरू माने र गुरूसँग योगीको यात्रामा पाइला चाले ।’

उनले हिमालयमा तपस्या गरेर नेपालमा तपस्या गरे । सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डीमै हरि बाबाले उनले संन्यास दीक्षा दिए। हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।

संन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौँ वर्ष कठिन तप गरे। साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए। भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौँ स्थानमा दस महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौँ मानिसलाई सद्मार्गमा ल्याए। भक्तपुरको सुर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए ।

नेपालमा विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित पाइलट बाबा उज्जैन पीठाधीश्वर समेत रहेका थिए । भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्। संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली छ। यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन्।

नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा पाइलट बाबाका आश्रम छन्। उनले आफ्नो गुरुस्थली त्रिखण्डीमा पनि आश्रम बनाउन सुरु गरेका थिए तर कोरोनाकालले गर्दा आश्रम निर्माणमा व्यवधान आयो। त्रिखण्डीमा निर्माणाधीन आश्रमलाई द्रूत गतिले सम्पन्न गराउन उनी १ वर्ष पहिले वैशाख १६ गते नेपाल आएका थिए ।