यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो।

‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ।

विगतमा विभुषणको गरिमा घटेको भन्दै तीव्र. आलोचना भइरहेको थियो । सोहीकारण सरकारले व्यवस्थापित बनाएर मात्र तक्मा बाड्ने निर्णय गरेको हो ।