रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय प्रान्त बिहारमा रक्सी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ । तर, यसै प्रान्तमा विशाक्त रक्सीको सेवनबाट कम्तिमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो मानवीय क्षति पछिल्लो दुई दिनमा सारण जिल्लामा भएको हो । छपराको मसरक बजारमा घटेको घटनाले बिहारमा राजनीतिक तरंग समेत ल्याएको छ । खासगरी नीति कार्यान्वयनमा सरकार असफल भएको आरोप लगोको छ । मंगलबार मध्यरातिबाट अस्पतालमा बिरामी आउन थालेका थिए ।

पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ । ‘देशी शराब’ अर्थात् घरेलु प्रविधिबाट स्थानीय तहमा बनाइएका रक्सीको सेवनपछिको घटनाले त्यहाँको गरिब बस्ती शोकाकुल बनेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गरिरहेको छ । प्रहरीले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बनमा परेका छन् ।