काठमाडौं । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा फर्काइएको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता पनि थुनछेक बहस आरम्भ भएन।
यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो। लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका पाँच प्रतिवादी थुनछेक बहस नसकिञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन् ।
सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। त्यसपछि दुवै पक्षको बहसप्रति बहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन् । अदालतका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अबेरसम्म मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमबारबाट थुनछेक बहस सुरु हुने जानकारी दिएका छन् ।