रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार निरन्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो । मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको हो । बिहीबारबाट थुनछेक बहस जारी छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।