रविलाई आज अदालत उपस्थित गराइने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ ।


रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामा छन् । शनिबारदेखि पोखरामा प्रदर्शन जारी छ । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रम राखेका छन् ।

सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।