काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परे अनुसार प्रहरीले अनुसन्धा थालेको हो ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो । त्यसक्रममा ‘अनुसन्धान गर्नुपर्ने’ विषयहरु देखिएको भन्दै प्रशासनले छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको सञ्चारमाध्यमले जनाएका छन् । लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए । नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको उजुरीमा उल्लेख छ ।
त्यसरी नागरिकता त्याग गर्दा पनि कानूनतः पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा उनले पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा उल्लेख छ । अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमन विभागको समस्या समाधान भएपछि अरु कुनै प्रक्रियामा नगएको लामिछानेले सार्वजनिक रुपमा भनेको उजुरीमा उल्लेख छ । त्यसैले लामिछानेले दल दर्ता गर्दा निर्वाचन आयोगलाई गुमराहमा राखेको दाबी उजुरीमा बताइएको छ ।