काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति इजलासबाटै व्याख्या भई निरूपण संवैधानिक र कानुनी प्रश्न भएकोले दर्ता गराउन भन्ने आदेश भएको हुँदा मुद्दा दर्ता भएको बताइएको छ ।
यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो। पुरानो नागरिकता फेरि लिएपछि उनी उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गत माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताएका थिए। पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
लामिछानेले फेरि लिएको नेपाली नागरिताको वैधताबारे उनले फेरि अदालतमा प्रश्न उठाएका छन्। सर्वोच्च अदालतको प्रशासनले यसअघि पौडेलको निवेदन दरपिठ गरिदिएको थियो। मुद्दा दर्ता नगर्ने अदालतको निर्णयविरुद्ध पौडेलले पुनरावेदन दिएका थिए। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमवार उनको निवेदन दर्ता गर्ने आदेश दिएको थियो।
लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको जिकिर गर्दै पौडेलले उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरेका छन्। मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन समेत पौडेलले अन्तरिम आदेशको माग गरेका छन्। रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगको मुद्दा पनि विचाराधीन छ।
उनले दोहोरो राहदानी प्रयोग गरेको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेपछि तीनै पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। सर्वोच्च अदालतले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउन आदेश दिएको छ।
सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै गत वर्ष राजनीतिमा होमिएका हुन्। उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो। तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।