काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए ।
उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ । २०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।