म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे, गणेश खनाल, गोरखाका रामशरण कोइराला, तेजेन्द्र पौडेलको नेतृत्वमा सुनौली गोरखपुर, दिल्ली हुँदै गोवा भ्रमणमा गएका थियौं । गोवा भ्रमण सकेर जब हामी मुम्बई पुग्यौं, रेलमा हाम्रो सम्बन्ध (लक्ष्मण र मेरो) अझ प्रगाढ भयो । उमेरले म भन्दा सात वर्ष कान्छो भएपनि लक्ष्मणसँग सबै उमेरका मान्छेसँग मिल्न सक्ने खुबी थिए । जब मैले मुम्बईमा हिन्दू कोलनी बास बस्दा उसलाई मैले “राजकुमारीको जुत्ता” कथा भनें त्यसपछि त उसले मलाई झनै आदर गर्न थाल्यो । प्रत्येक भेटमा उसले मलाई त्यो कथा भन्न लगाउँथ्यो । तपाईंलाई पनि उत्सुकता भएको होला कि राजकुमारीको जुत्ता कथामा के छ ?
राजकुमारीको जुत्ता रुसी लोककथा हो । सानैमा अर्थात् एसएलसी दिएर बसेका बखत विद्यार्थीको अध्यक्ष (अहिलेको अखिल क्रान्तिकारी) भएको बेला मैले पढेका चिनियाँ बाल उपन्यास चम्किलो रातो तारा, अजम्बरी गाउँ, रुसी लोककथा राजकुमारीको जुत्ता, मेक्सिम गोर्कीको चर्चित उपन्यास आमा, चिनियाँ लेखक साङमोको युवाहरुको गीत, प्रश्रितको गोलघरको सन्देश, भुतप्रेतको कथा, चोर, जस्ता कथा, उपन्यासले मेरो जीवनमा अत्यन्तै प्रभाव पारेको छ । जीवनका हरेक होडमा म ती कथा, उपन्यासका पात्र र तिनका चरित्रहरुलाई सम्झने गर्छु । त्यतिबेलादेखि संग्रह गरेका मेरा किताबहरु द्वन्द्वकालमा प्रहरी र सेनाको डरले केहीलाई प्लाष्टिकमा पोको पारेर गाडेको थिएँ, पछि निकाल्दा ती सबै किताबहरु माटो भएको थियो भने केही बहुमूल्य किताब सुवास मिजार (झापाबाट कविता पौडेललाई बिहा गरेर हाम्रो मित्र एग्रोभेटमा आश्रय लिएका थिए, असली नाम दलबहादुर मिजार) ले लग्यो । बाँकी मैले को–कोलाई किताब फिर्ता गर्ने शर्तमा दिए पनि फर्काएनन् । भनिन्छ, किताब दिने मूर्ख, किताब फर्काउने महामूर्ख । त्यसैले कोही पनि महामूर्ख बन्ने चाहेनन् होला । मलाई अहिले यस्तै लाग्छ ।
म बताउँदै थिएँ रुसी कथा राजकुमारीको जुत्ता । रुसमा जार शाहीको शासन भन्दा पनि एक सय वर्ष पहिले टोलटोलमा राजा थिए । हाम्रो पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुभन्दा पहिले बाइसे चौबिसे राज्य भए भन्दा बढ्ता राजाहरु थिए । हाम्रो पहाड जस्तै त्यहाँ पनि पहाडमा राजाको दरबार थियो । जाडो महिना एक दिन राजाकी छोरी राजकुमारीले दरबारको छतमा पारिलो घाम लागेको बेला निर्वस्त्र भएर नुहाउन थाली । दरबारभन्दा सात सय मिटर माथि एउटा सार्कीको घर थियो । सार्की पनि पालीमा बसेर जुत्ता सिलाइरहेको थियो । त्यो सार्कीको आँखा अचानक नुहाई रहेकी राजकुमारीमा पर्यो । हुन त त्यो सार्कीको बिहे पनि भएको थियो । सन्तान पनि थिए । तर राजकुमारीलाई त्यसरी वस्त्रहीन अवस्थामा नुहाइरहेको देखेपछि आँखा नझिम्काई हेर्यो । उसको मनमा कामुकता पैदा भइसकेको थियो । उसमा राजकुमारीलाई भोग्ने इच्छा प्रकट भो । तर कसरी ?
राजकुमारी नुहाई सकेर छतबाट तल झरी । सार्कीको मन भरङ्ग भो । उसले सोच्यो कि राजकुमारीको शरीर कस्तो होला ? उसलाई भोग्दा यो मनले कत्ति स्वर्गीय आनन्द पाउला भन्ने सोच्दासोच्दै उसले आफूले एक जोर जुत्ता बनाएको पत्तै पाएन । ऊ झसङ्ग भयो । के मैले राजकुमारीको तन मन जित्न सकुँला ? सक्दिनँ … । फेरि सक्छु । यस्तै मनोविवाद गर्दै उसले अर्को जोर पनि जुत्ता सिलाई सक्यायो । उसकी श्रीमती छोरोलाई काखमा च्यापेर पछाडि डोकोमा सुकेको छाला बोकेर आई । उसले श्रीमतीलाई कुनै वास्तै गरेन । उसले मनभरी राजकुमारीको शरीरलाई मात्र सम्झिरहेको थियो । उसले निश्चय गर्यो कि जसरी पनि राजकुमारीलाई भोगेरै छोडने । तर दरबारसम्म कसरी पुग्ने र त्यो वातावरण कसरी तयार पार्ने ? उसले सोच्दा सोच्दै एउटा जुक्ति निकाल्यो कि म राजकुमारीलाई जसरी पनि प्रभावमा पार्छु । त्यसैले भोलिपल्ट उसले राजकुमारीलाई एक जोर जुत्ता दरबारमा पुर्याउने निर्णय गर्यो ।
बिहानै उसले राजकुमारीको गोडाको अन्दाज गरेर एक जोर जुत्ता बनायो । दरबारमा काम गर्ने आठपहरिया उसकै घर नजिकबाट जाने हुँदा त्यही आठपहरिया (आईमाई) मार्फत् उसले आफ्नो नामबाट एकजोर जुत्ता उपहार पठायो । जब उसले राजकुमारीलाई जुत्ता उपहार पठायो, त्यसपछि उसको मन झन् अस्थिर भयो । त्यो जुत्ता राजकुमारीलाई मन परेन होला भन्ने सोचेर फेरि उसले भोलिपल्ट त्योभन्दा राम्रो जुत्ता दरबार पठायो । फेरी उसलाई दोस्रोपल्ट पठाएको जुत्ता मन परेन । तेस्रोपल्ट झन् राम्रो जुत्ता राजकुमारीको लागि दरबारमा पठाइसकेको थियो । राजकुमारीले, सार्कीले यसरी जुत्ता पठाएको कुरा आफ्नी सँगीमार्फत् बुझिसकेकी थिई । उसले त्यही जुत्ता ल्याउने आठपहरिया मार्फत् सार्कीलाई खबर पठाइ कि भोली दरबारमा दिउँसो दर्शन भेट गर्ने । सार्कीले आफ्नै हातबाट एकदम राम्रो जुत्ता दिने निर्णय गर्यो । बडो मिहेनतका साथ उसले जुत्ता बनायो । पालिस टल्कायो र जुत्ता लिएर दरबारतिर झर्यो । राजाराजी दिउँसो घोडा चढेर शिकार खेल्न जान्थे । त्यही समयमा राजकुमारीले सार्कीलाई निम्ता गरेकी थिई । मनमा कतै डर अनि कामुकताका साथ सार्की दरबार पस्यो । बैठकमा राजकुमारी उसकी सँगी सुसारे र आठपहरिया थिए । धनुष्टंकार गरेर सार्कीले राजकुमारीलाई ढोग्यो र आफ्नो हातबाट जुत्ता राजकुमारीलाई दियो । राजकुमारीले उसको आँखामा हेरी । उसले हेर्न सकेन । सँगी बाहेक अरुलाई त्यहाँबाट जानु भन्ने आँखाले इशारा गरी । तब सार्कीलाई राजकुमारीले बस्न आदेश दिई ।
राजकुमारी साह्रै विद्वान् थिई । उसले मान्छेका मनोविज्ञान जान्दथी । राजपाठदेखि उसलाई धेरै कुराहरुको ज्ञान थियो । सार्कीले लगातार जुत्ता किन र केका लागि पठाएको भन्ने कुरा उनलाई थाहा भइसकेको थियो । सार्कीलाई उनले तलदेखि माथिसम्म हेरी । राजकुमारी नबोली आफूलाई त्यसरी हेरेकोमा सार्की कुरा नबुझेर पनि आफै मख्ख थियो । मात्र उसको मनले राजकुमारीलाई वस्त्रहीन हेर्ने र भोग्ने इच्छा उसको मनमा पलाइरहेको थियो । राजकुमारीले भनी – तिमी मेरो शरीर हेर्न चाहन्छौ होइन ? सार्कीले केही नबोली मुन्टो हल्लाउँदै हो भन्ने इशारा गर्यो । तिमी मलाई प्रभाव पार्न आठ दिन अघिदेखि जुत्ता पठाइरहेका छौ, होइन ? सार्की बोल्यो – हो राजकुमारी ।
राजकुमारीले आफ्ना सुसारेलाई बोलाउँदै सबै जुत्ता ल्याउन लगाई । जुत्तालाई लहरै राख्न लगाई । जुत्ता पहिलोभन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो एवं रितले नवौं त टलक्क टल्किएर झनै राम्रो भएका थिए ।
सार्कीलाई लागिरहेको थियो राजकुमारी मदेखि प्रभावित भएकी छे । अब ऊ म जे चाहन्छु त्यो हुन्छ । त्यत्तिकैमा राजकुमारीले सोधी – तिम्रो बिहे भएको छ होइन ?
सार्कीले हो भन्यो । ल यी जुत्ताहरु कति राम्रा छन् हगी ?
दरबारका सबैले भने हो । यो भन्दा त्यो भन्दा, त्यो राम्रो ।
सार्कीलाई सबै जुत्ता उल्टो पार्न आदेश दिई ।
सार्कीले सबै जुत्ता उल्टो पार्यो । राजकुमारीले सोधी – कुन राम्रो ?
सार्कीले जवाफ दियो – सबै उस्तै । त्यति नै बेला कसेर राजकुमारीले एक थप्पड सार्कीलाई दिई र भनी हो जुत्ताको सोल जस्तै सबै आइमाईको शरीर पनि उस्तै हो । तिम्रो बिहे भइसकेको मान्छे मलाई भोग्ने कल्पना गर्ने ? सबै मान्छेका शारीरिक अंगहरु पनि उस्तै हुन् । मन मात्र भड्किने हो । यो भन्दा यो मान्छे र उसको शरीर कस्तो होला भनेर सोच्ने गर्दछन् मान्छेहरु । त्यही सोचाइले मान्छेमा कामवास्ना बढ्छ ।
हो त्यो राजकुमारीको जुत्ताले मलाई धेरै प्रभाव पारेको थियो । त्यो रात पनि लक्ष्मणले राजकुमारीको जुत्ताको कथा भन्नलाई कर गर्यो । मैले राजकुमारीको जुत्ताको कथाको अर्थ बताइरहेका बेला उसका आँखा लोलाइसकेका थिए ।
आर एल श्रमजिबी