काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ ।
काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् ।
पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको निसास्सिएर निधन भएको प्रहरीले बताएको छ ।
निकै बेर सम्म पनि पाइपबाट बाहिर ननिस्किएपछि डोजरको सहायतामा पाइप निकालेर उनीहरुलाई बाहिर निकालिएको थियो ।
लगत्तै अस्पताल लगेपनि बचाउन नसकिएको प्रहरीको भनाई छ । उनीहरु एकै परिवारका दाजुभाई रहेको बताइएको छ ।
काठमाडौंमा मेलम्चीको खानेपानी वितरण बिस्तारको काम भइरहेको छ ।
आयोजनाले विभिन्न स्थानको पाइप निरिक्षणको काम अगाडी बढाइरहँदा मजदुरको दुखद निधन भएको हो ।
उता, बुटबल बसपार्कमा रोकिराखेको एक बसको छतमाथि पुरुषको शव फेला परेको बुटवल प्रहरीले जानकारी दिएको छ ।
गुल्मी चन्द्रकोटका स्थायी बासिन्दा ३५ वर्षिय दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको प्रहरीले बताएको छ । उनी बसपार्कमै काम गर्दै आएका मजदुर हुन् ।