मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे ।
बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्दतमा अविजित १०२ रन जोडे । यो उनको पहिलो आईपीएल शतक हो । कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ७२ रन बनाए ।
मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १७७ जोडेको थियो । बलर नचल्दा राजस्थान हार्न पुग्यो । लगातार चौथो जित हात पारेको बैंलौर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।