राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ऐतिहासिक एकता महाधिवेशनपछि राष्ट्रिय शक्तिको रुपमा उदाएको राप्रपाका निवर्तमान अध्यक्ष थापाको निर्णय अनपेक्षित भएको भन्दै यस्तो अनुरोध गरेका छन् ।

‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भन्दै गरेको घोषणाप्रति दुःख प्रकट गर्दछौँ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’ राप्रपाले पार्टी राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित भएकोसमेत उल्लेख गरेको छ ।